भोक्राहा नरसिंह (सुनसरी), २०८२ भदौ १४ – भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ अन्तर्गत सदा टोलमा आज संस्कृति संवाद कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सांस्कृतिक संरक्षण र प्रवर्द्धनका उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको स्थानीय व्यवस्थापन श्री चन्दन मेहताले गरेका थिए। संवादका क्रममा सहभागीहरूले परम्परागत संस्कृति, भेषभूषा, लोककला तथा मौलिक भाषाको संरक्षणमा जोड दिनुपर्ने विषयमा गहन छलफल गरेका थिए। साथै, नयाँ पुस्तामा सांस्कृतिक चेतना फैलाउनका लागि विभिन्न रणनीति तय गरिएको जानकारी आयोजक पक्षले दिएको छ।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, युवाहरू र महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउन र मौलिक पहिचान जोगाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।