नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न
बर्जु (सुनसरी), २०८२ भदौ १३ गते – नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकैपटक आयोजित २ घण्टे धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा समेत धर्ना कार्यक्रम सम्पन्न भएको छ।

बर्जु गाउँपालिकामा सम्पन्न धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठनका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको नेतृत्व नेपाल शिक्षक महासङ्घ बर्जु कार्यसमितिले गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल शिक्षक महासङ्घ बर्जु अध्यक्ष विजय कुमार चौधरी, नेपाल शिक्षक सङ्घ बर्जु अध्यक्ष विनोद गुरुङ, नेपाल राष्ट्रिय शिक्षण संगठनका अध्यक्ष युवराज श्रेष्ठ, संघीय शिक्षक फोरम नेपाल अध्यक्ष रामानन्द मेहता, विद्यालय कर्मचारी परिषद बर्जु अध्यक्ष बाबुराम राय, बाल विकास शिक्षक कार्यसमिति अध्यक्ष सावित्री कर्ण, र प्रधानाध्यापक संघका संयोजक पुनितलाल चौधरी लगायतका वक्ताहरूले शिक्षकका हकहित, पेशागत मर्यादा, सेवा सुरक्षा र शिक्षाको गुणस्तरसम्बन्धी विषयमा आ–आफ्ना धारणा राखेका थिए।
धर्नामा बर्जु गाउँपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको व्यापक सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राखेका मागहरूलाई समर्थन गर्दै शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
ध्यानाकर्षण पत्र बर्जु गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र महतलाई ज्ञापनपत्र बुझाएका थिए । उनले तपाईहरुको ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा पठाउने भन्ने बाचा सहित ध्यानाकर्षण पत्र बुझेका थिए ।
माग र कार्यक्रमको पृष्ठभूमि
शिक्षक संगठनहरूले हालै सरकारले ल्याउन खोजेको शिक्षा ऐनको प्रावधान, शिक्षकको सेवा सुविधा , स्थायीकरण प्रक्रिया, सम्मानजनक तलब–सुविधा, बढुवा र पेशागत हकहित सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै देशव्यापी रूपमा दबाब कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यही सन्दर्भमा आयोजित धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्दै बर्जु गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका थिए।
नेपाल शिक्षक महासङ्घका अनुसार माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइनेछ।