मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिलीप बगडिया ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सुशासन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन्। नेकपा एमाले का तर्फबाट उम्मेदवार बनेका बगडियाले “भ्रष्टाचारमुक्त समाजको परिकल्पना र सुशासनयुक्त क्षेत्र बनाउने चाहना” नारासहित चुनावी एजेन्डा अघि सारेका हुन्।

पूर्व मेयरसमेत रहेका बगडियाले रंगेली नगरपालिकामा दुई कार्यकाल नेतृत्व गर्दा हासिल गरेको अनुभवलाई आधार बनाउँदै अधुरा योजनालाई निरन्तरता दिने र क्षेत्रको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। नगरलाई नमुना बनाउने आफ्नो प्रयास सफल भएको दाबी गर्दै अब समग्र निर्वाचन क्षेत्रको मुहार फेर्ने अभियानमा आफू केन्द्रित हुने बताएका छन्।
उनको एजेन्डामा सडक सञ्जाल विस्तार, नयाँ तथा पुराना पुल–कल्भर्ट निर्माण, शिक्षा–स्वास्थ्य सुधार, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, सिँचाइ, विद्युत्, वन तथा वातावरण संरक्षण, सुरक्षित खानेपानी, कला–संस्कृति संरक्षणलगायतका विषयहरू प्राथमिकतामा छन्। साथै महिला सशक्तीकरण, युवा रोजगारी, खेलकुद विकास र बालअधिकार संरक्षणमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय गरी जनताको आधारभूत आवश्यकतालाई सहज र सरल रूपमा पूरा गर्ने लक्ष्यसहित बगडियाले पारदर्शी, गुणस्तरीय र परिणाममुखी कार्यसम्पादनमार्फत मोरङ–२ लाई समृद्ध र सक्षम क्षेत्र बनाउने विश्वास व्यक्त गरेका छन्।
