विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट जम्मा २२ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् । मोरङमै थोरै मतदाता भएको यो क्षेत्रबाट जिल्लाकै सबैभन्दा बढी उम्मेदवारहरू चुनाव लड्ने तयारीमा छन् ।
विशेषगरी यादव समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा १४ जना दलका र आठ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी दौडमा रहेका छन् । संघीय सांसद बन्न तँछाड मछाड गरिरहेका यी उम्मेदवारहरूबीचमा पनि दुई यादवबीच हुन लागेको चुनावी प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।
विशेषगरी, स्वतन्त्र उम्मेदवार २५ वर्षीय अमरकुमार यादव र जनता समाजवादी नेपालका ५३ वर्षीय राजकुमार यादवबीच हुने चुनावी लडाइँ रोमाञ्चक हुने अपेक्षा गरिएको हो । किनकि, यादव समुदायको अनि विशेषतः विराटनगरका यादव समुदायको भोट दुईमध्ये कसले पाउलान् भन्ने कुराले सबैको ध्यान खिचेको हो ।
देशको नेतृत्व तहमा युवा हुनुपर्र्छ भन्नेलगायतका माग लिएर गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहलाई ध्यानमा राखेर अमरकुमार चुनावी मैदानमा होमिएका छन् । संघीय सदनमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने चाह राखेका राखेका उनले क्षेत्रको विकासदेखि कानून निर्माणका क्रममा प्रभावशाली भूमिका खेल्ने योजना बनाएका छन् ।
अर्कोतिर पटक–पटक मतदाताद्वारा अस्वीकृत बनेका राजकुमारले भने जेनजीको आवाजलाई नजरअन्दाज गर्दै पुनः चुनावमा होमिएका हुन् । यसअघि तीन पटक चुनाव लडिसकेका राजकुमारले अहिलेसम्म जित निकाल्न सकेका छैन ।
संविधान सभा निर्वाचन २०७० देखि नै सक्रिय प्रतिस्पर्धामा रहेका यादवले २०७४ र २०७९ को संघीय निर्वाचनमा पराजय बेहोरेका थिए । अघिल्लो निर्वाचनमा त नेकपा एमालेको साथ रहँदा पनि उनी तेस्रो स्थानमा नै सीमित बने । जबकि, त्यसभन्दा अघिल्लो नतिजा पनि त्यस्तै थियो ।
यसरी पटकपटक चुनाव लड्दा पनि जनमत नपाएका राजकुमार वा नयाँ पुस्ताको प्रतिधितित्व गर्ने चाह राखेका अमरकुमारलाई मोरङ ५ का मतदाताले रुचाउने हुन् त ? यस विषयको निर्क्योल भने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनले दिने पक्का छ ।
यस क्षेत्रमा अमरकुमार र राजकुमारका अलावा ममता यादव पनि यादव समुदायबाट प्रतिनिधित्व गर्ने तेस्री उम्मेदवार हुन् । ४१ वर्षीया ममताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । त्यसबाहेक यो क्षेत्रमा नेकपा एमालेका मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसका फूलकुमार लालवानी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका योगेन्द्र मण्डल, नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल केवट, राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमोद रायलगायत प्रतिस्पर्धामा छन् ।
