मोरङ–२ का उम्मेदवार मिनेन्द्र रिजाल, जसले पूरा गर्न सकेनन् आफ्नो प्रतिबद्धता
शेरबहादुर देउवाको नेतृत्व रहँदा २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले टिकट पाएनन् । त्यसबेला गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले डा. रिजालको टिकट खोसिन् । तर, तत्कालीन नेकपा माओवादी केन्द्रको साथ पाउँदासमेत सुजाताले चुनाव जित्न सकिनन् । बरु, नेकपा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको गढ मानिने मोरङ–२ मा जित हात पार्दै संघीय संसदमा प्रवेश पाए ।
कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानन्त्री गिरिजाप्रसादका उत्तराधिकारी मानिने डा. रिजालको असहयोगका कारण सुजाताले हार्नुपरेको भन्ने आक्षेप अहिले पनि केही कांग्रेस कार्यकर्ता लगाउँछन् । प्रायः गिरिजालाई भजाएर राजनीतिमा फट्को मार्न खोज्ने मीनेन्द्रलाई गिरिजाकी छोरी सुजाताले चुनावमा सघाउँथिन् । यसै कारण हुन सक्छ, उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक जित दर्ता गराएका थिए । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा त्यसबेलाको वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्दा एक्लै प्रतिस्पर्धामा होमिएको कांग्रेसबाट मीनेन्द्रले विजयी हात पारेका थिए ।
निर्वाचनपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २०७८ असोज २२ गते डा. रिजाललाई रक्षामन्त्रीमा नियुक्त गरेका थिए । तथापि, गिरिजाबाबूकै कोटाबाट उनी मन्त्रीमा नियुक्त भएका थिए । कांग्रेसको १४औं महाधिवेशनबाट प्राप्त नजिताप्रति असन्तुष्टि जनाउँदै रिजालले मन्त्री बनेको तीन महिनामै राजीनामा ठोके । तर, निर्वाचनअघि र चुनावपछि रिजालले मोरङ–२ का मतदातालाई जति प्रतिबद्धता जनाएका थिए, मन्त्री बन्दासमेत पनि त्यीमध्ये कुनै बाचा उनले पूरा गर्न सकेनन् ।
डा. रिजालले मोरङ–२ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित क्षेत्र बनाउने भन्दै गिरिजाबाबूजस्तै देश–तथा विदेशबाट सहयोग ल्याएर काम गर्न सक्छु भन्ने बाचा गरेका थिए । क्षेत्रगत विकास निर्माणको समस्त जिम्मा आफूले लिने ठोकुवा गरेका थिए । बक्राहा नदीलाई कृषि सिचाइँका लागि प्रयोग गर्न ठुलो आयोजना ल्याउने, विकासको कामले गति समात्ने उनले बाचा गरेका थिए ।
पश्चिममा लोहन्द्रादेखि पूर्वमा रतुवासम्मको नदी नियन्त्रण गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउने उनका ती योजना कहाँ पुगे मतदाताले सोध्न थालेका छन् । मोरङ–२ विराटनगर बजारजस्तो नभएर सुकुम्बासी समस्या र गरिबी व्याप्त भएको अनि पिछडिएको उल्लेख गर्दै उनी आफैं भन्ने गर्थे ः यी सबै समस्या समाधान म संसद पुगेपछि गर्छु । तर, अहिले पनि यस क्षेत्र अपेक्षित रूपले विकसित भइसकेको छैन ।
उनीबाट मतदाताले जति अपेक्षा गरेका थिए, त्यी सबै आशामै मात्र सीमित बने । बरु, रिजाल निकट मानिने कार्यकर्ताहरूले उनीबाट फाइदा उठाएको जनगुनासो व्याप्त छ । त्यससँगै मोरङ–२ का मतदाताहरू मिनेन्द्रलाई ‘टुरिस्ट’ उम्मेदवारका रूपमा व्याख्या गर्दै चुनाव लक्षित अभियानबाहेक उनीसँग भेटै नहुने तर्क गर्छन् ।
अब, एकपटक फेरि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका डा. रिजालले सहज जित आत्मसात् गर्ने दाबी गरिरहेका छन् । तथापि, रिजालले भनेजस्तै उनको जित सहज भने छैन । डा. रिजालले यसपालि रंगेलीका निवर्तमान मेयर तथा एमालेका उम्मेदवार दिलीप बगडियाको चुनौती सामना गर्नुपर्ने छ । दुई कार्यकालको आठ वर्ष नगरको विकास गरेको उत्साह बोकेर क्षेत्र विकास गर्ने विश्वासका साथ चुनावी मैदानमा उत्रिएका बगडिया रिजालका लागि चुनौती बन्न सक्छन् ।
अझ, डा. रिजालकै टिममा रहेका कांग्रेसी युवा नेता मानिने राजन निरौलाले स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि उनको भोट काटिन सक्ने आँकलन गरिएको छ । अनि, यो क्षेत्रबाट रास्वपाले जेनजी आन्दोलनमा संसद भवन जलाउने कार्यमा संलग्न देखिएका कृष्ण कार्कीलाई पनि उम्मेदवार बनाएको छ ।
