रौतहट – रौतहटको गौर नगरपालिका–९ मा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति मुडवलवा गेट नजिकै सडक किनारमा राखिएको अवस्थामा स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए।
आइतबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले सुटकेस खोलेर हेर्दा करिब ३० वर्षीया अज्ञात महिलाको शव भेटिएको हो। शवलाई डोरीले बाँधेर सुटकेसभित्र कोचिएको अवस्थामा प्रहरीले बरामद गरेको जानकारी दिएको छ।
मृतकको परिचय अझै खुल्न सकेको छैन। प्रहरीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस क्रममा नजिकैको विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेज संकलन गरी अपराधी पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा यो योजनाबद्ध अपराध भएको देखिन्छ। दोषीको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
