सन्तोष मेहता, ७ भदौ विराटनगर,। बालिकालाई सामूहिक बलात्कार गरेर फरार रहेका एक जना प्रतिवादीलाई सुनसरी प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । इनरुवा नगरपालिका–२ की १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका ३५ वर्षीय सुरज विश्वकर्मालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार बराहक्षेत्र नगरपालिका–५ भरौल घर भएका विश्वकर्मालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा गत आइतबार पक्राउ गरिएको हो ।
आफ्नै घरमा सुतिरहेका बेला बालिकालाई २०६१ साल मंसिर २३ गते राति ११ः३० बजेतिर ४÷५ जनाको समूहले सामूहिक बलात्कार गरेको थियो । बलात्कारमा संलग्नले बुवा–आमालाई नियन्त्रणमा लिँदै हातखुट्टा बाँधेर बालिकाकालाई सामूहिक बलात्कार गरेको एसपी ढकालको भनाइ छ । उहाँका अनुसार सामूहिक रूपमा बलात्कार गरेपछि बालिकालाई अचेत अवस्थामा छाडेर घटनामा संलग्नहरु फरार बनेका थिए ।
बलात्कारमा संलग्नमध्ये विश्वकर्मालाई सर्वोच्च अदालतले नौ वर्ष पाँच महिना १९ दिन कैद सजायको फैसला गरेको थियो । घटनापछि फरार रहेका उनलाई प्रहरीको विशेष टोली परिचालन गरेर पक्राउ गरिएको एसपी ढकालले बताउनु भयो । पक्राउ गरेर प्रहरीले बुझाएपछि विश्वकर्मालाई अदालतले कैद सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरेको छ । अदालतको फैसला कार्यान्वयनअन्तर्गत सुनसरी प्रहरीले चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।
विभिन्न अपराधमा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरुलाई पक्राउ गर्न विशेष अभियान चलाइएको एसपी ढकालको भनाइ छ । उहाँका अनुसार चालु आवको हालसम्म ६७ जना प्रतिवादीलाई पक्राउ गर्दा २२ वर्ष २६ दिन कैद र चार लाख ११ हजार छ सय ८३ रूपैयाँ जरिवाना असुल भएको छ ।