दसैँको आज दशाैं दिन । काठमाडौँलगायत देशका मुख्य सहरहरू सुनसान भइसकेका छन् भने गाउँघरमा चहलपहल बढेको छ । हरेक तप्काका मानिसहरु आ–आफ्नो कर्मभूमि छाडेर जन्मभूमि फर्केका छन् । त्यसको सबभन्दा बढी फाइदा राजनीतिक दलहरूले लिइरहेका छन् । अहिले नेताहरू आफ्नो कार्यक्रमहरू गाउँ केन्द्रित गरेका छन् । शुभकामना आदानप्रदानको नाममा दिनमा दुई चारवटा कार्यक्रमहरू गाउँघरमा भइरहेका छन् । कहीँ पार्टी प्रवेश त कहीँ मन्दिर उद्घाटन, पूजापाठका कार्यक्रमहरू गरेर नेताहरू जनताको घरघरमा पुगिरहेका छन् ।
त्यसमा तराई मधेस केन्द्रित दलहरू सबभन्दा अगाडि देखिएका छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अधिकांश नेताहरू अहिले तराई मधेस झरेका छन् । हालै विभाजन भएका यी दुवै पार्टी बीचमा कार्यकर्ताहरू बटुल्न प्रतिस्पर्धा चलेको छ । यी दलका नेताहरू कुनै न कुनै बहानामा जनताको बीचमा पुगिरहेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले दसैँको मौकामा असोज २४ गते प्रदेश २ मा जसपा मधेस प्रदेश समिति समायोजन कार्यक्रम सम्पन्न गरे । कार्यक्रम सम्पन्न गरेर अध्यक्ष यादवलगायत जसपाका शीर्ष नेताहरू काठमाडौँ फर्केनन् । त्यसको भोलिपल्ट सिरहामा अध्यक्ष यादवको उपस्थितिमा भव्य पार्टी प्रवेश कार्यक्रमको आयोजना भयो । सयौँका सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेकालाई अध्यक्ष यादवले स्वागत गरे । त्यसपछि उनी निरन्तर पार्टी प्रवेश गराउँदै आएका छन् । पार्टीले आयोजना गर्ने गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी हुँदै आइरहेका छन् । दसैँ सकिएपछि मात्र काठमाडौँ फर्किने अध्यक्ष यादवको योजना छ । उनले भने, ‘यसपालिको दसैँ मात्र होइन, मैले हरेक दसैँमा पार्टीका नेता तथा कार्यकर्ताको बीचमा मनाउने गरेको छु ।
दसैँ खुसीयालीको पर्व हो, यो पर्वमा सबै आआफ्नो घर फर्केका हुन्छन्, यही मौकामा सबैसँग भेटघाट गर्ने अवसर प्राप्त हुने गरेको उनले बताए । जसपाका कार्यकारिणी सदस्य एवम् कृषि मन्त्री महेन्द्रराय यादव पनि आफ्नो गृह जिल्ला सर्लाही पुगेका छन् । दसैँको उपलक्ष्यमा आयोजना हुने शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा उनी सहभागी हुँदै आफ्नो क्षेत्रमा डुलिरहेका छन् । दसैँभरका लागि उनका कार्यक्रम तय भइसकेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि यसपालिको दसैँमा आफ्नो क्षेत्रमा पुरा समय दिएका छन् । महोत्तरीको क्षेत्र ३ नम्बरमा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन् । लोसपाका युवा नेता अजय झाका अनुसार अध्यक्ष ठाकुर दसैँभरि आफ्नै क्षेत्रमा हुनेछन् । जसपाबाट भर्खर अलग भएर लोसपा बनेको छ, नेता तथा कार्यकर्तामा केही अन्योल देखिएका छन्, ती अन्योल हटाउने र पार्टीप्रति प्रतिबद्ध रहन नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष ठाकुरले आग्रह गरिरहेको उनले बताए ।
आफ्नो क्षेत्रमा उनी कार्यकर्ताहरूको घरघर पुगिरहेका छन् । दुर्गा पूजा हुने स्थानमा गएर पूजा गर्नु, नेता तथा कार्यकर्ताहरूलाई भेट्नु, पार्टीको सदस्यता वितरण, निर्माण कार्यको उद्घाटन गर्नु, सरकारबाट भएका विकासका कामको अनुगमन गर्नु जस्ता कार्यहरू अध्यक्ष ठाकुरले गरिरहेका छन् ।
सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि धनुषाको आफ्नो चुनावी क्षेत्रमा समय बिताइ रहेका छन् । उनका स्वकीय सचिव किशोर गुरुका अनुसार वरिष्ठ नेता महतो दसैँभर आफ्नै क्षेत्रमा रहेका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुको साथै विभिन्न शक्तिपीठहरुमा गएर पूजापाठ गर्ने कार्यक्रम रहेका छन् । उनले लोसपाका नेता तथा कार्यकर्तालाई पार्टीको सदस्यता वितरण गर्नुदेखि लिएर अन्य पार्टीबाट आउनेहरूलाई पनि प्रवेश गराइ रहेका छन् । उनी कात्तिक १० गतेसम्म आफ्नै क्षेत्रमा रहने कार्यक्रम रहेको छ ।
सो पार्टीका अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी पनि आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका छन् । मन्दिरहरूमा गएर पूजापाठ गर्नुको साथै नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रमहरू गरिरहेका छन् । लोसपाका शीर्ष नेता अनिलकुमार झा, जितेन्द्र सोनल, केशव झा, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरीलगायतका नेताहरू दसैँमा आआफ्नो क्षेत्रमा कार्यक्रमहरू गरिरहेका छन् ।
त्यस्तै, जसपाका कार्यकारिणी सदस्य एवं वन मन्त्री रामसहाय यादव, कार्यकारिणी सदस्यहरू मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमन, नेता प्रदीप यादवलगायतका नेताहरू पनि आआफ्नो क्षेत्रमा व्यस्त छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि दसैँमा पार्टीको कार्यक्रमहरूलाई तीव्रता दिएको छ । सो पार्टी पालिकाहरूमा अधिवेशन गर्नुको साथै दसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमहरू गरिरहेका छन् । जनमतका अध्यक्ष सिके राउत जनकपुरमै छन् । उनी नेता तथा कार्यकर्ताहरूलाई भेट गरी शुभकामना आदानप्रदान गरी दसैँ मनाइरहेका छन् । सिके राउतको पार्टी कार्यालय काठमाडौँमा भए पनि उनका अधिकांश समय मधेसमै बितिरहेका हुन्छन् । उनी भोलि आफ्नो गृह जिल्ला सप्तरी जाने कार्यक्रम रहेको छ ।
स्राेत राताे पाटी